दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । पर्यटन विभागको सहयोगमा अन्नपूर्ण-१ र रघुगङ्गा-७ का वडा कार्यालयको समन्वयमा पदमार्गको पहिचान भएको हो ।

विज्ञान, प्रविधि तथा नवप्रर्द्धनमन्त्री महावीर पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रतिनिधि चित्र तिलिजा पुनले पोखरालाई केन्द्र मानेर दोवा, सोवाङधुरी हुँदै चिमखोला भएर पुन पोखरा फर्कन छ दिनको पदमार्गको पहिचान र सम्भायता अध्ययन गरिएको जानकारी दिए ।

‘पदमार्गको अहिलेको अवस्था र पर्यटक भित्र्याउनका लागि आवश्यक पूर्वाधारको विषयमा स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन पर्यटन विभागमा बुझाएका छौँ’, उनले भने,’धवलागिरि गाउँपालिकाको मुदीबाट गुर्जा हुँदै ढोरपाटन जोड्ने नयाँ पदमार्गको पनि सम्भाव्यता अध्ययन भएको छ ।’

परापुर्व कालमा गोठालाले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्ग बनाउन लागिएको दोवाका विकास पुनले बताए। अन्नपूर्ण गाउँपालिका र मणिबराह युवा क्लबको साझेदारीमा यस वर्ष दोवाबाट पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा चार किलोमिटर ६०० मिटर पदमार्ग निर्माण भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको यस आयोजनाका लागि मणिबाराही युवा क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको छ भने स्थानीयले रु एक लाख २४ हजार बराबरको श्रमदान गरेका छन् ।

दुई वर्षअघि चिमखोलाका तारा गर्बुजाको पहलमा चिमखोलाबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेर प्रवर्द्धन थालिएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङधुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता रहेको गर्बुजाले बताए।

सुर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।

बेनी(जोमसोम सडक निर्माणपछि १६ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुबाट सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्ग नजिकका बस्तिबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट