
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गरेका हुन् ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई प्रभावकारी रूपमा समेट्ने वातावरण नबन्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने बताएका हुन् । ‘कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ । हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई केवल साक्षीका रूपमा उपस्थित गराउने नभई वास्तविक साझेदारका रूपमा सहभागी गराउनुपर्ने धारणा राखे । अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यवसायिक वातावरण सुधार, लगानी विस्तार र रोजगारी सिर्जनासम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणको नभई विश्वास र साझेदारीको हुनुपर्नेमा जोड दिंदै अध्यक्ष श्रेष्ठले व्यवसायिक वातावरण सहज र लगानीमैत्री बनेमा निजी क्षेत्र बलियो हुने र त्यसबाट समग्र अर्थतन्त्र तथा सरकारको राजस्वसमेत स्वतः बढ्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
पर्यटन नेपालको रोजगारी, विदेशी मुद्रा आर्जन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण आधार बन्न सक्ने भन्दै पर्यटनलाई केवल आगन्तुकको संख्या बढाउने क्षेत्रका रूपमा नभई उच्च मूल्य सिर्जना गर्ने उद्योगका रूपमा विकास गर्नुपर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको वास्तविक योगदान कति छ भन्ने विषयमा समेत स्पष्ट र विश्वसनीय तथ्यांक आवश्यक रहेको बताए । पर्यटनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी), रोजगारी, विदेशी मुद्रा आर्जन तथा अन्य आर्थिक गतिविधिमा पु¥याएको प्रत्यक्ष र अप्रत्यक्ष योगदानको यथार्थ मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो । ‘पर्यटनको अर्थतन्त्रमा वास्तविक योगदान कति हो भन्ने कुरा तथ्यांकमा स्पष्ट हुनुपर्छ । पर्यटनलाई प्राथमिकतामा राख्ने हो भने यसको योगदान, सम्भावना र प्रभावको पनि सही मूल्यांकन हुन आवश्यक छ,’ उनले भने ।
नेपालको अर्थतन्त्र लामो समयसम्म रेमिट्यान्समा निर्भर रहँदा जोखिम बढ्न सक्ने भन्दै अध्यक्ष श्रेष्ठले उत्पादनमूलक क्षेत्रको विस्तार र विदेशी मुद्रा आर्जनका अन्य दिगो स्रोत विकास गर्नुपर्ने आवश्यकता औँल्याए । पर्यटन, निर्यात, सूचना प्रविधि तथा अन्य सेवा क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सके मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सकिने उनको धारणा थियो ।
उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार, हवाई तथा सडक कनेक्टिभिटी, गन्तव्य विकास, सेवा गुणस्तर र लगानीमैत्री वातावरणमा सुधार आवश्यक रहेको बताए । साथै, निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्यबाट मात्रै पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न सकिने बताए ।
अध्यक्ष श्रेष्ठले विमानस्थल निर्माण मात्र पर्याप्त नहुने भन्दै काठमाडौंसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित, पर्याप्त र प्रतिस्पर्धी हवाई उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’