
काठमाडौं । फ्लोरियन थाउभिनको पहिलो हाफको गोल निर्णायक बनेपछि लेन्सले १० खेलाडीमा सीमित हुँदै पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले पराजित गर्दै पहिलोपटक सुपर कप (ट्रोफे डेस च्याम्पियन्स) को उपाधि जितेको छ। कुप डे फ्रान्सको गत सिजनको विजेता लेन्सका लागि थाउभिनले ३२औं मिनेटमा गोल गरे। तर, त्यसको ७ मिनेटपछि किलियन एन्टोनियोले सिधै रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित भयो।
पिएसजीले सुरुआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न सकेन। ख्भिचा क्वारात्स्खेलियाको प्रारम्भिक प्रहार लेन्सका गोलरक्षकले बचाए भने माग्नेस अक्लिउसको प्रहार लक्ष्यभन्दा बाहिर गयो। ३२औं मिनेटमा माथ्यु उडोलको प्रहार कमजोर हुँदै बाहिरिएपछि आएको बलमा थाउभिनले अवसर पाए। उनले पिएसजीका गोलरक्षक माट्भे सफोनोभलाई छलाउँदै गोल गरे।
त्यसपछि अक्लिउसमाथि एन्टोनियोले ट्याकल गरेपछि उनलाई सिधै रातो कार्ड देखाइयो। पहिलो हाफ सकिनुअघि पिएसजीले बराबरीको राम्रो अवसर पायो। डेजिरे डुएले बक्सको दायाँतर्फबाट गरेको प्रहार गोलपोस्टको कुनामा लागेर बाहिरियो। दोस्रो हाफमा पिएसजीले लगातार दबाब बनाए पनि लेन्सको रक्षापंक्ति तोड्न सकेन। ७७औं मिनेटमा फाबियन रुइजले गोल गर्दै खेल बराबरी गरेको जस्तो देखिए पनि गोलअघि अफसाइड भएपछि त्यसलाई मान्यता दिइएन।
त्यसपछि उस्मान डेम्बेलेले नजिकैबाट गरेको प्रहार पनि लक्ष्यमा पुग्न सकेन। ८७औं मिनेटमा नुनो मेन्डेसले मिचाल स्कोरासलाई कुहिनाले लागेपछि सिधै रातो कार्ड पाए। त्यससँगै दुवै टोली समान १० खेलाडीमा सीमित भए। अन्तिम समयमा लेन्सले दोस्रो गोल गर्ने अवसरसमेत सिर्जना गर्यो। माथ्यु उडोलले हेडमार्फत गोल गरे पनि त्यसअघि नै फाउल भएको भन्दै रेफ्रीले खेल रोकेका थिए।
पिएसजीको चार वर्षे दबदबा तोडियो
गत सिजन लिग वानको उपाधि दौडमा पिएसजीलाई सबैभन्दा कडा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियनभन्दा ६ अंक पछाडि रहेको थियो। यद्यपि, कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पूरा गरेको थियो। यसपटक डिनो टोपमोलरको नेतृत्वमा लेन्सले अर्को महत्वपूर्ण उपाधि थपेको छ। लेन्सको यो पहिलो सुपर कप उपाधि हो।
लेन्सले यसअघि सन् १९९८ मा एकपटक मात्र यो प्रतियोगिता खेलेको थियो। त्यतिबेला पिएसजीसँग १-० ले पराजित भएको लेन्सले यसपटक भने त्यही प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि आफ्नो नाममा लेखायो। पिएसजीले पछिल्ला चार संस्करणमा लगातार सुपर कप जितेको थियो। कीर्तिमानी १५औं उपाधि जित्ने लक्ष्यमा रहेको पिएसजीले खेलमा २२ प्रहार गरे पनि गोल निकाल्न सकेन।
यसै साता युइएफए सुपर कपको उपाधि जितेको पिएसजीका लागि अर्को उपाधि थप्न नसक्नु निराशाजनक रह्यो। उता, करिब एक घण्टा एक खेलाडी कम भएर पनि लेन्सले संयमित प्रदर्शन गर्दै ऐतिहासिक उपाधि जित्यो। यो सफलताले टोपमोलरको टोलीलाई नयाँ सिजनअघि थप आत्मविश्वास दिएको छ।












समाचार
शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने
बडीमालिका पूजा आजदेखि सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा
माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई
आर्सनलाई कम्युनिटि शिल्ड, सिटि पराजित