
गोरखा । जिल्लाको सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो ।
‘वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्नुहुन्छ’, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछानेले भने, ‘यहाँ ल्याएर दर्शनगरी पूजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेकाले अभिभावकले पनि विश्वास गर्नुहुन्छ ।’ बोल्न नसक्ने बालबालिकाको बोली फुट्ने धार्मिक विश्वासका कारण बक्रेश्वर मन्दिरमा भारतबाट भक्तजन आउने गरेको उनले जानकारी दिए ।
बक्रेश्वरीस्थित घना जङ्गलको बीचमा रहेको मन्दिरको दर्शन गराएपछि २५ वर्षको उमेरसम्म बोली नफुटेको पाइएकाहरु पनि बोल्नसक्ने हुनुभएको पुजारी लामिछानेले बताए । उनका अनुसार बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर नजिक पर्दछ । पढाइमा कमजोर भएका, सन्तान नभएकाले पनि यस मन्दिरको दर्शन तथा भाकलगरी पूजा गर्ने गरेका पुजारी लामिछानेले बताए । ‘बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजन वाक्य माग्न आउनुहुन्छ’, उनेले भने, ‘अहिलेसम्म बोली नफुटेर यहाँ आएर बक्रेश्वर देवताको पूजाअर्चना गरेपछि बोल्ने गरेका पाएका छौँ ।’
बक्रेश्वर मन्दिरमा भाकल गरेकाले भाकल पूरा गर्न मन्दिरमा रहेका महादेवलाई बेलपत्र, गाईको दूध, जनैसुपारी, पहेँलो कपडा, शङ्ख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिर पञ्चवलिसमेत चढ्ने पुजारी लामिछानेले जानकारी दिए । ‘यो मन्दिरमा हाँस, कुुखुरा, भेडा, राँगो, बोकाको बलि चढ्छ’, उनले भने, ‘मन्दिरमा हरेक दिन बिहान नित्य पूजा हुन्छ भने बेलुकी धूपबत्ती गर्ने प्रचलन रहँदै आएको छ ।’ मन्दिरमा शिवरात्रि र तीज पर्वका दिन विशेष मेला लाग्ने जनाउँदै उनले साउनको सोमबार पनि विशेष पूजा गर्ने गरिएको बताए ।
स्वस्थानी व्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरीर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जङ्गलमा सतिदेवीको जिब्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको उल्लेख गरिएको पुजारी लामिछानेको भनाइ छ । मनकामना क्षेत्र विकास समितिले बक्रेश्वरी मन्दिर संरचना निर्माण गर्न सहयोग गरे पनि स्थानीय सरकारले ध्यान नदिएको मन्दिरका पुजारी लामिछानेले बताए । मन्दिरसम्म पुग्नका लागि सडकबाटोको स्तरोन्नति तथा गोरेटो बाटो निर्माण गर्न स्थानीय सरकार योजना बनाइ पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।













समाचार
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?