
काठमाडौँ । १६ औँ नेपाल ञिङमा मोन्लाम कार्यक्रम आजदेखि शुरु भएको छ । ञिङ्मा मोन्लाम नेपाल बौद्ध ञिङमा संघको आयोजनामा भएको हो । १६ औँ नेपाल ञिङमा मोन्लाम कार्यक्रम विश्वविख्यात बौद्ध तीर्थस्थल बौद्ध चैत्य नजिकैको शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा शुरु भएको हो ।
नेपाल बौद्ध ञिङमा संघले यो कार्यक्रम २०६६ सालदेखि वार्षिक रूपमा आयोजना गर्दै आएको छ । कार्यक्रममा परम श्रद्धेय टुल्कु रिग्जीन पेमा रिन्पोछे, परम श्रद्धेय खेन्पो साङ्ग्या राङज्यूङ रिन्पोछे, श्रद्धेय टुल्कु ङवाङ थरछिन रिन्पोछे, र श्रद्धेय टुल्कु ङवाङ लाप्सुम रिन्पोछेज्युको सहभागिता रहेको छ । यसै गरी देशभरका गोन्पाबाट रिन्पोछे, टुल्कु, खेन्पो, लामा र लोपेनहरूको पनि सहभागिता कार्यक्रममा रहेको छ ।
मोन्लम पूजास्थललाई रङ्गीचङ्गी तोर्मा र निर्मल जलले आकर्षक तरिकाले भव्य सजाइएको छ । बौद्ध उपासक र उपासिकाहरूको उल्लेखनीय उपस्थितिमा आयोजित मोन्लाम कार्यक्रम विश्व शान्तिको कामनासहित आयोजना गरिएको हो । मोन्लाम कार्यक्रममा रोग, युद्ध, द्वन्द्व र प्राकृतिक प्रकोपबाट देश र समाजको मुक्तिको प्रार्थना गर्दै दिगो शान्ति, सुख र समृद्धिको कामना गरिने आयोजकको भनाइ छ ।

आयोजक सस्थाका अध्यक्ष आचार्य नुर्बुका अनुसार पुस १४ देखि १९ गतेसम्म ६ दिन सञ्चालन हुने मोन्लाम प्रत्येक दिन विहान ७ः३० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । महायान बौद्ध परम्परा अनुसार पाठपूजा गरिने मोन्लम कार्यक्रममा शरण गमन र बोधिचित्त उत्पादको पाठ गरिन्छ । यसै गरी प्रज्ञापारमिता हृदय सूत्र पाठ, आचार्य पद्मसम्भवका सप्त परिच्छेद वाचन, भद्रचर्या प्रणिधान राजा पाठ, मञ्जुश्री नाम सङ्गीति र तारा स्तुति पाठ सहित मंगल परिणामना पनि गरिन्छ ।
मोंलामको सामूहिक प्रार्थनामा भिक्षु, श्रामणेर, श्रामणेरिका, उपासक र उपासिकाहरू सहभागी भई लयबद्ध रूपमा मोन्लाम मन्त्र उच्चारण गर्दै समस्त प्राणीहरूको हित र कल्याणको कामना गर्नेछन् ।

श्रद्धालुहरूलाई रिन्पोचेज्यु तथा लामाहरूको दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सामूहिक पाठ सुनेर आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त भएको श्रद्धालुहरुको भनाइ छ । विभिन्न जिल्लाका गोन्पाबाट भिक्षु र श्रद्धालुहरू हजारौंको संख्यामा कार्यक्रममा सहभागी भएका छन् । मोन्लाम कार्यक्रमले धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
तस्वीर सौजन्यः आचार्य सार्की शेर्पा













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू