
काठमाडौं । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ शुरु भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा मेला सुरु भएको हो ।
महोत्सवको शुभारम्भ गर्दै काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको बजारीकरण पनि महत्वपूर्ण पाटो भएको बताए । स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरुले तयार गरेका उत्पादनहरुको बजारीकरणमा चुनौति देखिएको भन्दै उनले उद्यमशीलतामा लाग्नेहरुलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरुको ध्यानाकर्षण गराए ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको बताए ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहेको उनले बताए । प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताइन् । काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको प्रदर्शनीमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताइन ।
रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनीमार्फत स्वदेशमै केही अवसरहरु छन्, हामीले चाहेको अवस्थामा केही गरौं आफ्नै देशमा, रोजगार सिर्जना गरौं आफ्नै देशमा भन्ने मनोभावनाका साथ काम गरौं भन्ने मेलाको मुख्य ध्येय रहेको छ । प्रदर्शनीको शुभारम्भका अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका सल्लाहकार वासु गिरी, घरेलु तथा साना उद्योग संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष डोल्मा शेर्पा, उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौंका कोषाध्यक्ष सन्तोष कार्कीलगायतले मेलाका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन