
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रो’ (छिचोलेको) छ । मुख्य सुरुङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।
उक्त कार्यका लागि पेनस्टक पाइप जडानकार्य अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।
विद्युतगृहका सिभिल संरचना निर्माणकार्य पनि अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । स्वीजयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरण जडानलगायतका कार्य भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ ।
सञ्चारविज्ञ गौतमका अनुसार ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । उक्त प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिइरहेको छ ।
मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको आयोजनाका म्यानेजिङ डाइरेक्टर किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गर्न लागिएको छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ’, उनले भने, ‘क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।’
मुख्य बाँध निर्माण छिट्टै सुरू गर्न लागिएको छ । प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज–१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?