प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो

म्याग्दी। म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका पर्वतारोहीको टोली प्रतिकूल मौसमका कारण आधार शिविर क्षेत्र छाडेर सुरक्षित स्थानतर्फ फर्किएको छ। म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरू सम्भावित जोखिमबाट बच्न फर्किएका हुन्।

आरोहण टोलीको समन्वय गरिरहनुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनका अनुसार आधार शिविरमा रहेका ३० जना पर्वतारोहीको टोली बिहीबार तल्लो क्षेत्रतर्फ झरेको हो।

असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र बिग्रँदो मौसमी अवस्थाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै टोली सुरक्षित ठाउँमा फर्कने निर्णयमा पुगेको उहाँले जानकारी दिए।

मौसम सुधार भएमा चार दिनपछि आरोहणलाई निरन्तरता दिने निर्णयसहित टोली तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरतर्फ झरेको छ भने केही पर्वतारोही हेलिकप्टर प्रयोग गरी पोखरा पुगेका छन्।

‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार आरोही टोली धवलागिरि आधार शिविर पुगेको थियो। बिहीबारदेखि मौसम प्रतिकूल बन्न थालेपछि उनीहरूले आरोहण स्थगित गरेका हुन्।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरेको छ।

यसैबीच पर्यटन विभागले सार्वजनिक सूचना जारी गर्दै हिमाली क्षेत्रमा रहेका सबै पर्वतारोहीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पनि मौसम अनुकूल नभएसम्म आधार शिविरतर्फ प्रस्थान नगर्न पदयात्री तथा आरोहीहरूलाई अनुरोध गरेको छ।

चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि पर्यटन विभागबाट चारवटा समूहका १० महिलासहित कुल ३४ जनाले आरोहण अनुमति (परमिट) लिएका छन्। उनीहरूबाट ७७ लाख ८२ हजार ४५० रुपैयाँ सलामी दस्तुर (रॉयल्टी) संकलन भएको विभागकी शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ।

विभागको अभिलेखअनुसार गत वसन्तयाममा तीनवटा समूहका १२ महिला र १६ पुरुष गरी २८ जना तथा २०८२ को शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका थिए।

छिनछिनमा परिवर्तन भइरहने मौसमी वातावरण धवलागिरि आरोहणको मुख्य चुनौती मानिन्छ। अन्य हिमालका तुलनामा धवलागिरिको आरोहणलाई बढी जोखिमयुक्त र साहसिक मानिन्छ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेका थिए। उनीसँगै पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा धवलागिरिको चुचुरोमा पुग्ने पहिलो टोली हुन्।

उता म्याग्दीकै अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका आन्तरिक तथा बाह्य पर्यटकसमेत मौसम बिग्रिएपछि फर्किएका छन्।

मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार बिहीबारदेखि सो क्षेत्रको पदयात्रा पूर्ण रूपमा बन्द भएको छ। पर्यटकीय याम सुरु हुने समयमै भोटेकोशीको बाढी र अविरल भारी वर्षाका कारण धेरै पर्यटकहरूले आफ्नो पूर्वनिर्धारित भ्रमण रद्द गरिरहेको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर