
पोखरा । दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ । अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्ने तयारीसँगै यहाँ एक दर्जनजति उत्सव, महोत्सव जारी छन् ।
पोखराको मुख्य क्षेत्र लेकसाइडमै अहिले पृथक् खालका तीन महोत्सव चल्दै छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) कास्कीको आयोजनामा देशकै ठुलो सडक महोत्सवमा नेपाली र विदेशी पाहुना रमाएका छन् । फेवा किनारमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ हुँदै आएको महोत्सव २६ औँ संस्करणसम्म आइपुग्दा अङ्ग्रेजी नयाँ वर्ष मनाउने पर्वका रूपमा स्थापित भएको छ ।
रेबान अध्यक्ष विश्वराज पौडेल महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्य महसुस गराएको उल्लेख गरे । ‘यसले सांस्कृतिक विविधतालाई उजागर गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत सघाएको छ,’ पौडेलले भने । फेवातालमा आइतबार र सोमबार अन्तर्राष्ट्रियस्तरको ड्र्यागन बोट रेस भयो । चीनमा लोकप्रिय यो डुङ्गा दौडमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी बने । ड्र्यागन आकारका डुङ्गाहरूको दौडले पर्यटकलाई मात्र लोभ्याएको छैन, विदेशमा पनि पोखराको प्रवर्धन गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ यो प्रतियोगिताले नेपाली र चिनियाँलाई जनस्तरमै जोडेको उल्लेख गरे । ‘यसले खेलको विकास त गरेको छ नै । दुवै देशका नागरिकलाई बलियोसँग जोड्ने कडीसमेत भएको छ,’ उनले भने ।
लेकसाइडछेउकै पामेमा पुस ९ गतेबाट सुरु भएको अन्तर्राष्ट्रिय हट एअर बेलुन फेस्टिभलले देश, विदेशमै चर्चा पाएको छ । पुस १७ गतेसम्म चल्ने महोत्सवका गतिविधिले बिबिसी, वाल स्ट्रिट जर्नलसम्म स्थान पाएपछि आयोजक बेलुन नेपालका अध्यक्ष विक्रम बाडे उत्साही भएका छन् । ‘नेपालमा पनि बेलुन उड्छ भन्ने बुझाउन महोत्सव गरेका हौँ,’ उन भने, ‘देश, विदेशबाट पाएको प्रतिक्रियाबाट उत्साही छौँ । यसले पोखराकै प्रवर्धनमा सघाएको महसुस भएको छ ।’ यो महोत्सवमा १५ देशका १७ हट एयर बेलुन पोखराको आकाशमा उडिरहेका छन् । बेलुनमा उडेर नजिकैका हिमाल र पोखराको सौन्दर्य हेर्ने पारखीहरू पनि उत्तिकै छन् ।
सोमबार गुरुङ समुदायले अनेक कार्यक्रमका साथ ल्होसार मनाएको छ । गुरुङ जातिको बाक्लो बसोबास रहेको गण्डकीमा यो समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष÷वर्ग र ‘सार’ को अर्थ फेरिनु हुन्छ । संस्कृतिकर्मी कृष्णकुमार गुरुङ वर्ष फेरिने दिनलाई पर्वका रूपमा मनाइँदै आएको बताउँछन् । ‘१२ राशि जस्तै १२ पशुपन्छीको नाममा १२ वर्ग विभाजन गरिएको हुन्छ । यसपालि गिद्ध वर्गको बिदाइ गरी सर्प वर्गलाई स्वागत गरियो,’ उनले भने ।
आइतबार पोखरा–३२ मा खुदो मेला भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाले उखु किसानलाई प्रोत्साहन गर्न यो मेला गरेको हो । महानगरले पोखरा ३२ लाई उखुको पकेट क्षेत्र घोषणा गरी उखु खेती प्रवर्धनका लागि प्रयास गरिरहेको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया महानगरले उखु कृषकलाई अनुदानसहित उत्पादित खुदो लेबलिङ र बजारीकरणका लागि समेत सघाउने गरेको उल्लेख गरे । आइतबार ‘टुर दि पोखरा’ नाममा साइकल दौड प्रतियोगिता भएको थियो । सोही दिन पोखरा महानगरपालिका वडा नम्बर ४ ले यःमरी महोत्सव आयोजना गरेको थियो ।
त्यसैगरी सात तालको नगरका रूपमा परिचित साबिक लेखनाथमा भोलि पुस १८ बाट माघ १ गतेसम्म २० औँ लेखनाथ महोत्सव हुँदै छ । सोमबार पत्रकार सम्मेलन गरी यसको पूर्ण तयारीका बारेमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र सञ्चार संयोजक जानुका पराजुलीले जानकारी दिए । सामाजिक काममा अग्रणी भूमिका निर्वाह गर्दै आएको युनाइटेड क्लबले पनि यही पुस २५ देखि माघ ५ सम्म पोखरा महोत्सवको आयोजना गर्दै छ ।
यसरी हुने कार्यक्रम, महोत्सव र प्रतियोगिताहरूले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप चिनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको महानगरका प्रमुख धनराज आचार्य बताए । ‘यी उत्सव, कार्यक्रमहरूले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई प्रवर्धन गरी अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्धनमा सहयोग पु¥याउँदै आएका छन्,’ उनले भने ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन