
दाङ । घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् । घरमा आमाले घरखर्चका लागि पालेको पाँचवटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन् ।
‘राम्रै छ बजार, दुइटा बोका बेच्यो कि ३० हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै’ भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ’, खनालले भने । अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकाले खोर बाहिर राख्ने गरेको उनले बताए।
खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएका छन् । ‘अहिले सोचेजति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक ५ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । घरखर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन’, उनले भने, ‘युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ ।’ खनालले बाख्रालाई खुवाउन १२ कठ्ठामा वर्षिम, पाँच कठ्ठामा जौँ र १० कठ्ठा जमिनमा नेपियर घाँसखेती गरेका छन् । उनले एकजना सहयोगी पनि राखेका छन् । एक सय वटा माउ बाख्रा पाल्ने र एक वर्षमा एक सय खसी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।
‘पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाले यहाँ केही गर्नुपर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ’, खनालले भने । आफ्नै जमिनमा लगानी गरी खोर तयार गरेर बाख्रापालन सुरु गरेको उनले बताए । सङ्घ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुने पनि आफूले अहिलेसम्म कुनै निकायबाट सहयोग नगरेको उनले गुनासो गरे ।
‘लगानी लगाउने वित्तिकै आम्दानी वा नाफा खोज्नु हुँदैन, धैर्य गरेमा सफल भइन्छ । निरन्तर मेहनत भने गर्नुपर्छ’, खनालले भने । हालसम्म रु १२ लाख लगानी गरेर व्यवस्थित दुई वटा खोर बनाएको बताउँदै उनले गत दसैँमा मात्र ५ लाख ५० हजार रुपैयाँको खसीबोका बेचेको जानकारी दिए । एउटा खसीलाई ६० हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले उल्लेख गरे । अहिले खोरमा बिक्री गर्न १५ वटा खसीबोका तयार रहेका खनालले बताए । दाङसहित रोल्पा, रुकुम र प्यूठानबाट पनि ग्राहक बाख्रा खोज्न आउने उनले उल्लेख गर्दै भने, ‘बाख्रा खरिद गर्न व्यापारी घरमा आउँछन्, गत दसैँमा मात्रै ५ लाख ५० हजार रुपैयाँको खसीबोका बिक्री भएको थियो ।’ यो वर्षको विस्तारै आम्दानी बढ्ने अपेक्षा रहेको बताउँदै खोर बनाउँदाको रकम चुक्ता भएपछि मुनाफामा जाने उनले उल्लेख गरे ।
आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उहाँले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । स्वदेशमै केही गर्न चाहेने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह