
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन्। भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए।
‘गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट उपभोक्रा समिति मार्फत मुना देखि साइलाखर्क सम्म दुई किलोमिटर एक सय मिटर सडक निर्माण सकिएको छ,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाट साइलाखर्क देखि मालिका धुरीतर्फ थप तीन किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हानको तयारी गरेको छ ।’
दुई योजनामार्फत पाँच किलोमिटर सडक निर्माण भएपछि पाँच घण्टाको यात्राअवधी ४५ मिनेटमा छोटिने वडा अध्यक्ष रोकाले बताए । मुनादेखि मालिका धुरी पुग्न हाल कम्तीमा छ घण्टा जङगलको उकालो बाटोमा पैदलयात्रा गर्नुपर्छ । सडक निर्माण भएपछि एक घण्टा भन्दा कम समय पैदलयात्रा गरेर मालिका पुग्न सकिनेछ ।
सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने मुना मालिका समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा छ । पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरि हिमशृङखलाको अवलोकन गर्न सकिने मुना मालिका सुनसान छ । म्याग्दी र बागलुङका बस्तिहरु देखिन्छ । बादल र पहाडको लुकामारी हेर्न पाइन्छ ।
मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडा अध्यक्ष रोकाले बताए । मुना मालिकामा हरेक वर्षको वुद्धपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जालिका, मालिका र कालिका देविको थान रहेको छ । बुद्ध पूर्णमाका दिन मुना मालिकामा पुजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
मालिका गाउँपालिकाको देविस्थान र धौलागिरीको मुनाका बासिन्दाहरु यहाँ पुजाआजाका लागि जाने गर्छन् । पहिले पहिले यहाँ धार्मिक मेला लाग्ने र ठेलो फाल्ने प्रतियोगिता हुने गरेको बुढापाका बताउछन् । यो क्षेत्रमा मुनाका कृषकले गाईभैसी र भेडाबाख्राको गोठ लैजाने चलन थियो । पाहुना, पर्यटक र भक्तजन आश्रयस्थलमा बास बस्छन् । होटल तथा रेष्टुरेन्ट नभएकाले खाने र बन्दोबस्तीका सामान आफै लैजानुपर्ने हुन्छ ।
यात्राअवधी र बाटो छोट्याउने, आश्रयस्थल बनाउने, चिया पसल सञ्चालन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भैरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व