
धनुषा । छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारी जनाएका छन् ।
अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ । त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको बताए ।
गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यसपटक व्रर्तालुलाई केराको अभाव नहुने अध्यक्ष यादवले बताए । केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ का रमेश गुप्ताका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य रु ६०० सयदेखि रु एक हजारसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा केरा भारतबाट आयात गरिएको छ । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको फलफूल व्यवसायीको भनाइ छ । महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहले भने, ‘यस वर्ष झण्डै ७२ ट्रक केरा भित्र्याइएको छ ।’
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।
छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५÷२० ट्रक बढी केरा मगाइएको छ”, उनले भने ।
समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछन् । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उनले जानकारी दिए । बजारमा प्रत्येक केराको घरीलाई रू ५०० देखि एक हजारसम्ममा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय