
भोजपुर । पोखरी निर्माणपछि भोजपुरकाे अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो ।
वडाध्यक्ष कुमार थापाले बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि योजनाबद्ध सिँचाइ पोखरी निर्माण गरिएको बताए । हालसम्म यहाँ छ वटा पोखरी निर्माण गरिएका र त्यसबाट सिक्रेटार क्षेत्रका करिब एक हजार ५ सय रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा विस्तार भएको उनले जानकारी दिए ।
वडाध्यक्ष थापाले भने, ‘सुख्खा क्षेत्रमा पानीको दिगो व्यवस्थापन नगरी कृषि विकास सम्भव हुँदैन । त्यसैले मुहानसहितका ठूला पोखरी निर्माण गरेका छौँ । यस कार्यले किसानलाई केही राहत भएको छ ।’
उनका अनुसार निर्माण गरिएका पोखरीलाई सिँचाइमा मात्र सीमित नराखी बहुउपयोगी बनाइएको छ । आगलागीजस्ता विपद्का समयमा पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने गरी संरचना तयार गरिएको छ । साथै, पोखरीबाट खेतबारीसम्म पानी पुर्याउन वडाले पाइप वितरण गर्दै आएको छ । यसले किसानलाई सिँचाइ पहुँचमा सहज बनाएको छ ।
‘पोखरी निर्माण अभियानलाई बहुआयामिक विकाससँग जोडेर अगाडि बढाइएको छ । पोखरी वरपरका क्षेत्र संरक्षण गर्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ । भविष्यमा यी क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना छ’, वडाध्यक्ष थापाले भने ।
वडासचिव अशोक अधिकारीले यहाँको मैदानेमा दुई, दुंगेमा एक, सिक्रेटारमा एक र बेलटारमा दुई वटा पोखरी निर्माण सम्पन्न भएको बताए । यसबाहेक थप दुई वटा पोखरी निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए।
विशेषगरी हिउँदे बाली उत्पादनमा यसले प्रत्यक्ष प्रभाव पारेको छ । हाल यहाँका किसान बदाम, फलफूल तथा तरकारी, आलु, प्याज, टमाटरलगायत नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय प्रदीप थापाले पोखरी निर्माणसँगै गाउँको कृषि प्रणालीमा परिवर्तन आएको बताए ।
यसका साथै, पोखरी निर्माणले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण र जैविक विविधता जोगाउन पनि सहयोग पुग्ने स्थानीय अम्बर थापाको विश्वास छ । सिँचाइ पोखरीले पानीको समस्या समाधान मात्र नभई कृषकको आयआर्जन वृद्धि, वातावरण संरक्षण तथा सम्भावित पर्यटन विकासका लागि नयाँ आधार तयार पारेको उनले बताए ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो