काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् ।
संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्यान्डको बैंककमा भएको नवौँ मन्त्रिस्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले ती विषयमा ध्यानाकर्षण गराएकी हुन् ।
मन्त्री चौधरीले जलवायु न्याय, पर्याप्त र सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा अनुकूलनका लागि नेपाललाई थप अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । नेपालले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र तथा दिगो विकासका क्षेत्रमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू उनले प्रस्तुत गरेकी थिइन् ।
मन्त्री चौधरीले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने नेपालले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गरिन् । उनले नेपालको सफल सामुदायिक वन व्यवस्थापन कार्यक्रम, जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा प्रकृतिमा आधारित समाधानलाई क्षेत्रीय तथा विश्वव्यापी रूपमा अनुकरणीय अभ्यासका रूपमा प्रस्तुत गरेकी थिइन् ।
नेपालजस्ता अल्पविकसित, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूले उत्पादन गरेका वातावरणमैत्री तथा जैविक उत्पादनहरूलाई अन्तरराष्ट्रिय बजारमा सहुलियतपूर्ण, प्राथमिकतापूर्ण तथा सहज बजार पहुँच उपलब्ध गराउनुपर्ने उनको जोड थियो । बुधबारदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुने उक्त बैठकका क्रममा मन्त्री चौधरीले सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय कार्यक्रममा समेत सक्रिय सहभागिता जनाई नेपालको दृष्टिकोणहरू राखेकी थिइन् । भ्रमणका अवसरमा मन्त्री चौधरीले संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानासँग भेटवार्ता गरेकी छन् ।
यस्तै, बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री अब्दुल आवाल मिन्टूसँग पनि मन्त्री चौधरीले द्विपक्षीय भेटवार्ता गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।













समाचार
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिन्छ
जन्मकैदको सजाय पाएका निलम्बित सांसद शर्मालाई उच्चले तोक्यो ५ वर्ष कैद
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
ग्लोबल आइएई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने
विश्वकपमा इंग्ल्यान्ड र डिआर कङ्गो भिड्दै
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
कार्यगत एकताबाट अघि बढ्नुपर्छः ओली
बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन सम्बन्धी छलफल