नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं । नेपालीहरूको ठुलो चाडपर्व नजिकिँदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा पहिलो चरणको यात्रु सहायता कक्ष शुभारम्भ गरिएको जानकारी दिए। उनले विजया दशमी, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको बताए। काठमाडौँ उपत्यकाभित्र १५ ठाउँमा र देशका अन्य प्रदेश तथा जिल्लाहरूमा पनि यस्ता सहायता कक्षहरू सञ्चालन गरिने उनको भनाइ छ ।

उनले चाडपर्वमा घर फर्कने यात्रुहरूले यात्रा सम्बन्धी आवश्यक जानकारी लिन, आफ्ना गुनासोहरू राख्न र सहज यात्राको वातावरण बनाउन सहायता कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट