पहिलो महिनामा १ खर्ब ४८ अर्ब व्यापार घाटा, आयात र निर्यात भने दुवै बढ्यो

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख पुगेको छ । जुन गत आव २०८२/८३ को तुलनामा २५ प्रतिशतले बढी हो । गत आवको पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रहेको थियो ।

समिक्षा अवधिमा आयात निर्यात दुवै बढेको छ । चालु आवमा आयात १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो । गत आवको पहिलो महिनामा आयात १ खर्ब ४३ अर्ब चार करोड ६ लाख रहेको थियो । नेपालले भारत लगायत तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री आयात गर्छ ।

चालु आवको पहिलो महिनामा निर्यात ३८ अर्ब ७० करोड ४१ लाख रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवको पहिलो महिनामा २३ अर्ब ९३ करोड २४ लाख निर्यात रहेको थियो । नेपालले भारत लगायत तेस्रो मुलुकसँग विशेषगरी भटमासको तेल, सूर्यमूखी तेल, गलैंचा अलैंची लगायतका सामग्रीहरुको उच्च निर्यात गर्छ । साथै नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरु, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी प्रमुख रुपमा रहेका छन् ।

समिक्षा अवधिमा कुल वैदेशिक व्यापार बढेको छ । चालु आवको पहिलो महिनामा कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो । गत आवको पहिलो महिनामा कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रहेको थियो ।

वैदेशिक व्यापारमा निर्यातको हिस्सा १७ प्रतिशत हुँदा आयतको हिस्सा ८३ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट