
भोजपुर । भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौं, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा शहरमा निर्यात हुन थालेको हो ।
अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।
हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्ममा खुर्सानी बिक्री गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्याङका स्थानीय किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्याङ संकलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० केजीसम्म खुर्सानी बाह्य जिल्लाका बजारमा पठाउने गरिएको छ ।
सडक सुविधाका कारण व्यापारी खुर्सानी खरिद गर्न सोझै किसानका खेतबारी र स्थानीय संकलन केन्द्रसम्म पुग्ने गरेका छन् । तिवारीले विगत पाँच वर्ष अघिदेखि खुर्सानी खेतीसँगै अन्य किसानले उत्पादन गरेको खुर्सानी संकलन गरेर बाहिर पठाउँदै आएको बताए । ‘स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु,’ उनले भने, ‘तिवारीभञ्याङबाट मात्र दैनिक ४०० केजीसम्म खुर्सानी शहरी क्षेत्रमा गइरहेको छ ।’
उत्पादन भएको खुर्सानी बिक्री गर्न र बजारीकरणका लागि हाल कुनै समस्या नरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान कमला थापाले बताइन् । भोजपुरको पहाडी हावापानीमा उत्पादन भएको अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाहिरी जिल्लामा माग उच्च रहेको उनको भनाइ छ । जिल्लामा यस वर्ष करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए ।
यो वर्षको खुर्सानी अझै बिक्री भइरहेकाले कुल कति उत्पादन भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको उनको भनाइ छ । गत आर्थिक वर्षमा भने जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा करिब २३ करोड रुपैयाँ भित्रिएको प्रमुख यादवले जानकारी दिए ।
‘अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,’ प्रमुख यादवले भने, ‘धेरै किसान खुर्सानीको व्यावसायिक खेतीमा आबद्ध रहेका छन् । यहाँको खुर्सानी बाह्य जिल्लामा ठूलो परिमाणमा निर्यात हुँदै आएको छ ।’
स्थानीय तहले पनि खुर्सानीको खेतीको लागि किसानलाई अनुदान सहयोग गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको खुर्सानीको शहरका बजारमा राम्रो माग रहेको किसानको भनाइ छ ।












समाचार
आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
आम्दानीको स्रोत बन्यो रातो च्याउ
एसिसी प्रिमियर कप फाइनलः उपाधिका लागि नेपाल र युएई मैदानमा
आज विश्व प्राथमिक उपचार दिवस
साता दिनमै ६ हजार ४ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?
धेरै पछि सेयर बजारमा हरियाली, सातामा १६ अंकको वृद्धि, कारोबार पनि बढ्यो
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक
इजिपी प्रणाली बन्द भएकोमा नेकपाको आपत्ति, निष्पक्ष छानबिनको माग