‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेल : विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताएकी छन् । नेकपा एमाले जिल्ला कमिटी दोलखाद्वारा आईतबार काठमाण्डुमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, संघर्ष र नेतृत्वदायी भूमिकाका विभिन्न पक्षलाई समेटिएको उल्लेख गरिन् ।

पुस्तकले उनको राजनीतिक जीवन र योगदानलाई बुझ्न महत्त्वपूर्ण सामग्री प्रदान गर्ने विश्वास व्यक्त गरिन् । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको विचार, अनुभव र संघर्षलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण कार्य भएको बताइन् । पुस्तकले राजनीतिक तथा सामाजिक क्षेत्रमा पोखरेलले पुर्‍याएको योगदान, उनका विचार र नेतृत्वका अनुभवलाई भावी पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने उनको भनाइ थियो ।

पुस्तकका लेखक आनन्दप्रसाद पोखरेलले जीवनमा आफुले भोगेका दु:ख, कष्ट, राजनीतिक अनुभवका विषयका आधारमा पुस्तकमा उल्लेख गरिएको जानकारी दिए । लोकार्पण समारोहमा एमाले उपमहासचिव योगेश भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, झलक सुवेदी लगायत लेखक, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर