दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । यहाँका खुला बजारमा दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहलपहल अन्य समयको तुलनामा बढेको हो ।

दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपलगायत बजारमा व्यापारीसमेत व्यस्त देखिएका छन् । भृकुटीमण्डपलगायत विभिन्न पसलमा ग्राहक कपडा छनोट गर्दै, मूल्यबारे जानकारी लिँदै तथा आफूलाई आवश्यक सामग्री खरिद गर्न व्यस्त रहेको भृकुटीमण्डपस्थित खुला बजारका फेन्सी पसलका व्यापारी अशोक खतिवडाले बताए ।

उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा बढेको उनले बताए । “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भने ।

दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए ।

उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । “भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको समेत उपस्थिति बढेको छ”, उनले भने ।

एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको सङ्ख्या बढेको व्यापारीहरूको भनाइ छ । चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन् ।

काठमाडौँ उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालीन पसल तथा सपिङ मल र ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगा, कपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण बढ्ने गरेको व्यापारीहरूको भनाइ छ ।

सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगा, कपडा बिक्री गर्दै आएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताइन् । उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् ।

दसैँसँगै मौसममा समेत क्रमिक रूपमा सुधार हुन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगा, कपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् । विशेषगरी ज्याकेट, स्विटर, ट्र्याकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताए ।

दसैँलगायत चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, नयाँसडकलगायत बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ । चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न उपत्यकाका साथै बाहिरी जिल्लाबाट काठमाडौँ आएका नागरिकसमेत किनमेलमा व्यस्त हुन थालेका छन् ।

व्यापारीहरूले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर