
दाङ । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।
घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेकी छन् । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उनले बताइन्। गाई र बाख्रालाई बर्सिम घाँस खुवाएर पाल्न सजिलोे भएको उनले बताइन् । ‘हिउँद याममा आफ्नो १५ कट्ठा खेतमा तोरी, मसुरो र गहुँको साटोमा बर्सिम घाँस लगाउने गरेको छु’, उनले भने, ‘पूरै खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो, हरियो हुँदा काटेर गाई बाख्रालाई खुवाउन पनि पाइएको छ ।’
सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको उनले बताइन् । उनले भनिन्, ‘गाई बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ ।’
घोराही–६ बचाहाका बालकृष्ण खनालले १७ कट्ठा खेतमा यो घाँस लगाएका छन् । उनले व्यावसायिक रुपमा बाख्रा पालेका छन् । उनीसँग ७० बाख्रा छन् । उनले हिउँदमा बर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काटेर खुवाउनाले बाख्रापालन सजिलो भएको बताए । बर्सिम घाँसखेती गर्दा मल पनि छर्न नपर्ने र धानमा हालेको मलले घाँसलाई पनि काम गर्ने भएकाले खेती गर्न सजिलो भएको उहाँले बताए । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाईभैंसी, भेडा र बाख्रा सबैलाई यो घाँसले फाइदा पुर्याउँछ ।
घोराही–१७ कर्जाहीका विकास चौधरीले दुई भैँसी र आठ बाख्रा पालेका छन् । उनले भने, ‘बाह्र कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ ।’ घरमै बीउ उत्पादन गरेर वर्षेनी घाँसखेती गर्ने गरेको उनले बताए ।
‘एकपटक काटेर सकियो, यहाँका धेरैजसो पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको छ, वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्, हरियो र सुकेको बर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ’, उनले भने ।
घोराही–६ का कृषकहरुले १२ देखि साढे दुई बिघामा घाँसखेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । घोराही–६ को गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को गैरागाउँका किसानले बर्सिम घाँसखेती गरेका छन् । अहिले पूरै खेतभरि हरियो बर्सिमखेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ६० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताए।
उनका अनुसार जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । धानखेतीपछि बर्सिम घाँसखेती गर्ने गरिन्छ । यसलाई (ग्रिनगोल्ड) का नामले पनि चिनिन्छ । पछिल्लो समय दाङका सबै जसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताए ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन