काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (माघ २१ गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन ५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।