
बागलुङ । समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर। अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। अझ यहाँबाट देखिने दृश्यले धेरैलाई मोहित पार्छ। उत्तरतिर सेताम्य हिमशृङ्खला, लालीगुराँस फुलेर रातम्या बनेका जंगल र अग्ला पहाड अवलोकनका लागि थामचौर उत्कृष्ट गन्तव्य हो।
भौगोलिक विकटताका कारण हालसम्म ओझेलमा रहेको थामचौरमा पछिल्लो समय छिटफुट आन्तरिक पर्यटक पुग्न थालेका छन्। मध्यपहाडी लोकमार्गको भिमगिठे बजारदेखि करिब १३ किलोमिटर उत्तरमा रहेको थामचौर पुग्न सडक मार्गको सुविधा भए पनि व्यवस्थित छैन। शान्त वातावरण, स्वच्छ हावा र चराचुरुङ्गीको चिरविर आवाजले पर्यटकको थकान मेटाउँछ।
बागलुङको बडिगाड गाउँपालिका-७ भिमगिठे बजारको शिरमा अवस्थित थामचौरमा गाडी वा पैदल दुवै किसिमले पुग्न सकिन्छ। भिमगिठेदेखि डाँडागाउँ, माझखर्क, असारेगाउँ छिचोल्दै थामचौर पुग्ने सडक केही अप्ठ्यारो हुँदा यात्रा नभए पनि थामचौर पुगेपछि यहाँको सुन्दरताले पर्यटकको थकान सहजै मेटाइ दिन्छ। आँखै अगाडि देखिने हिमाल, अनगिन्ती अग्ला पहाड र मनै फुरुङ्ग बनाउने विभिन्न प्रजातिका फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन्।
थामचौरबाट धौलागिरिसहित आधा दर्जन हिमाल, ढोरपाटन, निसीखोला, बडिगाड, गुल्मी, प्युठान, रोल्पा, रुकुमलगायत थुप्रै ठाउँ एकै स्थानबाट सहजै देख्न सकिन्छ। त्यति मात्रै होइन विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु नजिकैबाट देख्न सकिन्छ। अग्लो स्थानमा रहेको थामचौरलाई हिमाल, वन जंगल, खोलानाला, खोँच र बस्ती अवलोकन गर्ने भ्यूटावरका रूपमा लिइन्छ। यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयवासीले आँटो, ढिँडो, लोकल कुखुरा, बोकाको मासु, मकैको रोटीलगायतका स्थानीय परिकार खुवाउने गर्छन्। पर्यटकका लागि गाउँपालिकाले केही पूर्वाधार निर्माण गरिरहेको छ।
विशाल समथर मैदानमा फैलिएको थामचौरमा बडिगाड गाउँपालिकाले सार्वजनिक शौचालय, पोखरी, मन्दिर र पर्यटकका लागि बस्ने ट्रस्ट भवन निर्माण गरेको छ। बडिगाड गाउँपालिका-७ का स्थानीय रेखीराम बुढाले दशक अगाडि गाउँलेले वस्तुभाउ चरन क्षेत्रको रूपमा प्रयोग गर्ने ठाउँ अहिले पर्यटकीय गन्तव्य बन्न थालेको बताए। थामचौरमा बागलुङ र गुल्मीको विभिन्न स्थानबाट वनभोजका लागि पर्यटक आउने गरेका छन्। हरेक वर्ष नयाँ वर्ष र होली पूर्णिमाका दिन एक हजार बढी पर्यटक यहाँ आउने बुढाले बताए। बाह्रै महिना पर्यटक भित्र्याउनका लागि राज्यले व्यवस्थित सडक निर्माण गर्नुका साथै प्रचारप्रसार गर्नु पर्ने उनको भनाइ छ।
मध्यपहाडी लोकमार्गको भिमगिठे बजारबाट गाडीमा ४५ मिनेट र करिब तीन घण्टाको पैदल यात्रामा थामचौर पुग्न सकिन्छ। बडिगाडले थामचौरलाई प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए। हालसम्म पालिकाले करिब ५० लाख रूपैयाँको हाराहारीमा पूर्वाधार निर्माणमा खर्च गरेको छ। भौगोलिक कठिनाइका कारण सडकलाई व्यवस्थित बनाउन नसकेको उजले बताए।
अध्यक्ष अधिकारीले भने, ‘पालिकाको बजेटले मात्रै थामचौरसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन सक्ने अवस्था छैन, यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नुपर्छ, यद्यपी पालिकाबाट पनि धेरै लगानी गरेर अहिले पर्यटक आवतजावत गर्न सक्ने सडक बनाएका छौँ, यति सडकलाई ग्राभेलसम्म गर्न पाए यहाँ पर्यटकको आगमन बढ्ने थियो।’













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम