मनमोहन स्मृति एकदिवसीय क्रिकेट : कोशीले प्रहरीलाई हरायो

विराटनगर । एमएम कप फाउन्डेसनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समूह बी अन्तर्गतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको हो । जितसँगै कोसीले दुई अंक जोडेको छ । टस हारेर ब्याटिङ गरेको कोसीले ५० ओभरको खेलमा २९.३ ओभरमा सबै विकेट गुमाएर ९३ रनको सामान्य योगफल खडा गरेको थियो ।

कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । पुलिसका सुनिल दौल्यानले पाँच विकेट लिँदा विपीन कार्की र चित्र विष्टले दुई–दुई विकेट लिए । जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सीमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले एक्लैले पाँच विकेट लिँदा प्रकाश कार्कीले तीन विकेट दिए ।

बुधबार समूह बीको दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भारतको आसाम क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार