
काठमाडौं । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदै छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो ।
यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ । दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ । पर्यटनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकार भएका निकायसँग समन्वय र सहकार्य गरिएको बताए । उनले जेठ १५ गते गणतन्त्र दिवस र संसद्मा बजेट वक्तव्य पनि रहेकाले उपयुक्त कार्यक्रमसँग नजुध्नेगरी कार्यक्रम मिलाइएको जानकारी दिए ।
बिहान प्रभातफेरी गरिने तथा गणतन्त्र दिवस र दिउँसो बजेट वक्तव्य कार्यक्रम सकिएपछि ‘सगरमाथा समिटर्स समिट’को आयोजना गरिनेछ । दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत हुनेछ । दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ । दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकार भएकाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पहिलो सगरमाथा आरोहीको स्मरण गर्दै हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको बताए । हिलारीको परिवार तथा विभिन्न मुलुकका आरोही अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन नेपाल आउने उनले जानकारी दिए । “लुक्ला विमानस्थललाई तेञ्जिङ हिलारी विमानस्थलको नामकरण गरिएको छ । सगरमाथा विश्वको सम्पदा र सम्पत्ति भएकाले यसलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन सबै गम्भीर हुनुपर्ने आवश्यकता छ”, अध्यक्ष शेर्पाले भने,“पछिल्लो समय विश्वव्यापी तापमानका कारण हिमालको हिउँ पग्लेर कालापत्थर देखिन थालेको भन्दै सगरमाथा र हिमाल संरक्षणबारे चिन्तन गर्ने बेला आएको छ ।”
एक तथ्याङ्कअनुसार नेपालमा पाँच हजार ८०० मिटर माथिका एक हजार ७९२ हिमाल रहेका छन् । आठ हजार मिटरभन्दा माथिका आठ हिमाल नेपालमा छन् । यी सबैमध्ये ४६१ मात्रै आरोहणका लागि खुला गरिएका छन् । यस वर्ष पनि दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्मान गरिने पर्यटन विभागले जनाएको छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण