
गोरखा । जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए ।
गत वर्ष बाली भित्र्याउने बेला पानी परेको उल्लेख गर्दै उनले किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको सङ्क्रमण बढेको जानकारी दिए । गुणस्तरीय धानको बीउ प्रयोग गर्दा मरुवा रोगको सङ्क्रमण कम हुने भन्दै उनले पानीमा भिजेको बीउ प्रयोग गरिएकाले समस्या देखिएको बताए ।
कृषि प्रसार अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर तीन हजार मेट्रिकटन चैते धान उत्पादन भएको थियो । यो वर्ष भने करिब एक हजार ५०० मेट्रिकटन उत्पादन भएको छ । “जिल्लाभर ७२५ हेक्टरमा चैते धानखेती भएकामा पाँच हजार रोपनीमा मरुवा रोग लागेर पूर्ण रूपमा क्षति भयो, त्यसैले यो वर्ष उत्पादन घटेको हो”, उनले भने । मरुवा रोगले चैते धान उत्पादन भएको क्षेत्रमा समेत १५ प्रतिशत क्षति गरेको कृषि प्रसार अधिकृत पौडेलको भनाइ छ ।
चैते धानमा मरुवा रोगको सङ्क्रमण देखिएपछि जिल्लाभर ९८ लाख बराबरको क्षति भएको जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । कार्यालयले गत आव २०८२/८३ मा रु ६७ लाख खर्च गरी चैते धान प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरेको उनले जानकारी दिए ।
“जिल्लाभर ६७ हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन भएको थियो”, प्रमुख तिवारीले भने, “कार्यक्रम सञ्चालन गरेको क्षेत्रफलमध्ये ३० हेक्टरको धानमा मरुवा रोगले ५० प्रतिशतभन्दा बढी क्षति गरेको छ । बाँकीको २७ हेक्टरबाट ९४ मेट्रिकटन उत्पादन भएको छ ।” उनका अनुसार मरुवा रोगका कारण चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब १६० मेट्रिकटन धान उत्पादन भएको छ । यसका लागि कार्यालयले ८३० मिटर पक्की कुलो निर्माण गरेर सिँचाइ उपलब्ध गराएको थियो ।
साथै, किसानहरूलाई उन्नत बीउ, हाते ट्याक्टर, ‘स्प्रेटङ्की’, सिँचाइ मोटर, बोरा, त्रिपाल, कुटानीपिसानी उपकरणलगायत सामग्री उपलब्ध गराइएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । जिल्लाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका र सिरानचोक गाउँपालिका आसपासका क्षेत्रमा चैते धानखेती हुने गरेको छ ।












समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ