
कञ्चनपुर । जिल्लाको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । तर, अहिले पेशा फेरिएको छ ।
विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन गर्न थाले । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे । ‘सुरुआतमा बुबाले धानखेती हुँदै एक÷दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो’, हरिरामले भने । विसं २०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो ।
बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाइरहेका उनले बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भएर काम गरिरहेको बताए । माछापालनबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेको हरिरामले सुनाए । ‘धान, गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आन्दानी छ’, उनले भने, ‘माछाको सङ्ख्याअनुसार आम्दानी हुन्छ । मैले वार्षिक रु ३० लाख लाखसम्म आम्दानी गर्ने गरेको छु ।’
एक माछा एक किलोग्राम तौलको हुनका लागि एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ । दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात–आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताउछन् । माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ ।
हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन् । नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए । हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ । उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छन् । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् । ‘शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालनबाट पनि राम्रै भएको छ’, हरिरामले भने, ‘सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।’













समाचार
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब
नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै
राहुघाट निर्माणको १६ वर्षे यात्रा: असफल ठेक्कादेखि परीक्षण उत्पादन
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको होः कानुनमन्त्री गौतम
डोल्पामा सीता एयर दुर्घटना
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक