धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले धानको न्यूनतम समर्थन मूल्य बढाउन माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले तराईमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बगलीया धानको न्यूनतम समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेका हुन्।

‘किसानका समस्या मैले मेरै आँगनमा देखेको छु। कयौँ दिन लाइन बस्दा पनि मल नपाएर रित्तै हात फर्केका किसानका मलिन अनुहार, सिँचाइ अभावमा सुक्दै गएका धानका खेतले मलाई दुःखित बनाएको छ,’ सांसद यादवले भने, ‘रातदिन नभनी खेतमा सुन फलाउने किसान उचित मूल्य नपाएर ऋणको भारी बोक्न बाध्य छन्। त्यसैले तराईमा खेती हुने बासमती धानको समर्थन मूल्य प्रतिक्विन्टल १० हजार र बगलीया धानको समर्थन मूल्य प्रतिक्विन्टल कम्तीमा पाँच हजार कायम गरियोस्। अरू धानको समेत उचित मूल्य तोकियोस् भनी म सरकारसँग जोडदार माग गर्दछु।’

उनले अगाडि भने, ‘बिउ, मल र सिँचाइ सहज बनाइयोस्। साथै कृषि बिमा र उपजको उचित मूल्य तोकी किसानको स्तर उकासियोस्।’ सांसद यादवले किसानको जीवनस्तर उकास्न बिउ, मल, सिँचाइ, कृषि बिमा र कृषि उपजको उचित मूल्य निर्धारणलाई प्राथमिकतामा राख्न सरकारसँग जोडदार माग गरेका छन्।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट