भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) को व्यवस्था गरिएको छ । भेडापालक किसानालाई प्रवर्द्धन गर्नका लागि गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

गोठालो भत्ताको व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् । भेडापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत त्यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए । कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेडा पालनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

जिल्लाको सिंजा गाउँपालिका–६ का भेँडापालक किसान भीमबहादुर रावतले भने ‘यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले १०० भन्दाबढी भेडा रहेकाछन् । सो रकमले भेँडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेडापालक किसान रावतको भनाइ छ ।’ चालु आर्थिक वर्षमा त्यहाँका २३० जना भेडा किसानले प्रोत्साहन भत्ता पाएकाछन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १ हजार ७०० भन्दा बढी भेडा पालक किसान रहेका छन् । जहाँ ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन् ।

जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख बुढ्थापाले बताए । भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेडा पालक किसान रुञ्ज रावतको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार