विश्व च्याम्पियन स्पेन युरोको सेमिफाइनलमा

काठमाडौं । स्पेन २८ वर्षपछि युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक स्विट्जरल्यान्डलाई २–० ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

स्पेनले अहिलेसम्म महिला युरो जितेको छैन। विश्व च्याम्पियन स्पेनले बर्नमा जित निकाल्न संघर्ष गर्नुपर्यो। पहिलो हाफमा स्विसको कडा रक्षापंक्तिलाई भत्काउन स्पेनिस खेलाडीले सफल भएनन् । स्पेनले दुई पटक पेनाल्टीबाट गोल गर्न चुकेको थियो । त्यसका बाबजुद एथेनेया डेल कास्टिल्लो र क्लाउडिया पिनाले गोल गरेपछि स्पेनले सन् १९९७ पछि पहिलो पटक युरोको सेमिफाइनल पुग्न सफल भयो ।

नाडिन राइजेनले बक्सभित्र फल गरेपछि नवौं मिनेटमा मरिओना काल्देन्टेले स्पेनलाई अग्रता दिलाउने अवसर पाएकी थिइन् । तर उनले पेनाल्टी किक चुकाइन् । पछि एलेक्सिया पुटेलासले पनि पेनाल्टीमा गोल गर्न सकिनन् । उनको प्रहार सिधै स्विस गोलकिपर लिभिया पेंगको हातमा पुगेको थियो । परिवर्तित डेल कास्टिल्लोले ६६ औं मिनेटमा गोल गर्दै स्पेन अघि बढाइन् । मैदान प्रवेश गरेको चौथो मिनेटमा नै उनले उत्कृष्ट फिनिशसहित गोल गरिन् ।

७१औँ मिनेटमा पिनाले उत्कृष्ट कर्लिङ प्रहारमार्फत टोलीका लागि दोस्रो गोल गरिन् । स्पेनले बुधवार फ्रान्स वा जर्मनीसँग सेमिफाइनल खेल्नेछ। इटाली र इङ्ग्ल्याण्ड यसअघि सेमिफाइनल पुगिसकेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार