
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारका कारण चेपुवामा परेको भानु घाँसी पार्क पुनर्निर्माण गरिने भएको छ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा अवस्थित उक्त पार्क मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पुनर्निर्माण गरिदिन लागेको हो ।
सडक मापदण्डभित्र परेका कारण विस्तार हुँदा विस्थापित भएको उक्त पार्क पुनर्निर्माणका लागि सडक योजनाकै सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ । भानु घाँसी स्मारक संरक्षण समितिका उपाध्यक्ष गोपाल सुर्खालीले राष्ट्रिय विभूति भानुभक्त आचार्यको सम्मानमा निर्माण भएको पार्कलाई थप आकर्षित बनाउन डिपिआर निर्माण भइसकेको जानकारी दिए । “राजमार्ग विस्तारका क्रममा पार्कको अस्तित्व नै मेटियो । अब यहीँ ठाउँमा आकर्षक पार्क बनाउनका लागि सडक आयोजनाले सघाउनेछ,” उनले भने ।
पार्क निर्माणका लागि रु तीन करोड ५३ लाखमा डिपिआर तयार भएको र स्वीकृतिका लागि एसियाली विकास बैंक (एडिबी)मा पठाएको उनले बताए । एडिबीबाट स्वीकृत भएर आउनेबित्तिकै पार्क निर्माणको काम अगाडि बढाइने सुर्खालीले जानकारी दिए । सडक विस्तारकै क्रममा पार्कलाई संरक्षण गरी काम गर्न आग्रह गरिए पनि त्यतिबेला मापदण्डका कारण पार्क जोगाउन नसकिएको सुर्खालीको भनाइ छ ।
हाल यहाँ भानुभक्त आचार्य र घाँसी कुवाको पुरानो सालिक छ । पुनर्निर्माणपश्चात त्यसलाई पनि आकर्षक बनाइनेछ । पार्कभित्र शौचालय, स्थानीय उत्पादन बिक्री गर्ने स्थल पनि यहाँ बनाइनेछ । सडक विस्तारपछि पार्क विस्थापित हुँदा राजमार्ग भएर यात्रा गर्ने पर्यटक यहाँ आउन कमी भएको छ । अहिले पार्क व्यवस्थित नभएकाले पहिलाको तुलनामा सङ्ख्या कमी छ । पार्क व्यवस्थित भएपछि यस ठाउँ पर्यटकको रोजाइमा पर्ने उहाँको विश्वास छ ।
मुग्लिन–पोखरा सडक विस्तार (पूर्वी खण्ड)का परामर्शदाताका इञ्जिनियर मन्दीप श्रेष्ठले निभा कन्सल्टेन्सीमार्फत डिपिआर तयार भएको जानकारी दिए । यहाँ सार्वजनिक शौचालय, पार्किङस्थल, स्थानीय उत्पादन बिक्रीका लागि बिक्रीस्थल, नेपालको झण्डा, आकर्षक प्रवेशद्वार, आदिकवि भानुभक्त आचार्यको तीन मिटरको अर्धकदको सालिक, मोतीराम भट्टको अर्धकदको सालिक, पैदलमार्ग, बुल्दी किनारसम्म पुग्नका लागि पहुँचमार्ग पनि निर्माण गरिने श्रेष्ठले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भानु घाँसी पार्कलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । न्यौपानेले भने, “यस ठाउँ ऐतिहासिक तनहुँसुर जाने प्रवेशद्वार पनि हो । यसलाई नगरभित्रका धार्मिक तथा सांस्कृतिक ठाउँहरूको प्रचारप्रसार गर्ने सूचना केन्द्रका रूपमा विकास गर्नुपर्छ ।” सदरमुकाम दमौलीबाट पाँच किलोमिटर दूरीमा अवस्थित घाँसी कुवामा भानु घाँसी पार्क छ । यसअगाडि पार्क नजिक स–साना टहरामा व्यापारिक पसल सञ्चालन हुँदा यहाँ चहलपहल बढी हुन्थ्यो, तर सडक विस्तारसँगै संरचना भत्किएपछि यहाँ पहिलाको जस्तो चहलपहल छैन ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू