वर्ल्ड च्याम्पियनसिप लिजेन्ड : डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका विजयी 

काठमाडौं । कप्तान एबी डिभिलियर्सले शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्डमा लगातार तेस्रो जित निकालेको छ । लेस्टरमा बिहिवार इङग्ल्याण्ड च्याम्पियन्सलाई दक्षिण अफ्रिकाले १० विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।

१५३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान डिभिलियर्सले ५१ बलमा १५ चौका र ७ छक्काको सहयोगमा अविजित ११६ रन बनाए । अर्का ओपनर हसिम अम्लाले २५ बलमा ४ चौकाको सहयोगमा अविजित २९ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५२ रन बनाएको थियो । इङ्ग्ल्याण्डका ओपनर फिल मस्टर्ड ३३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । स्मिथ पटेल २४, कप्तान इयान मोर्गान २० तथा मोइन अली १० रनमा आउट भए ।

टिम एम्बोर्स १९ र लियम प्लान्केट १३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका वाइन पार्नेल र इम्रान ताहिरले समान २ तथा क्रिस मोरिस र डुनी ओलीभरले समान १ विकेट लिए । सबै ३ खेल जितेको दक्षिण अफ्रिका ६ अंकसहित शीर्ष स्थानमा छ । इङ्ग्ल्याण्ड ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ । प्रतियोगितामा ६ टोलीको सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार