काठमाडौं । लुइस डियाज बायर्न म्युनिख जाने पक्का भएको छ । जर्मन च्याम्पियनले लिभरपुलसँग एड–अनसहित ७५ मिलियन युरो बराबरको सम्झौता गरेपछि डियाज जर्मन जाने निश्चित भएको हो ।
यसअघि बायर्नले कोलम्बियाली फरवार्डका लागि ५८.६ मिलियन पाउण्डको सुरुवाती प्रस्ताव राखेको थियो । त्यसलाई लिभरपुलले अस्वीकार गरेको थियो । २८ वर्षीय डियाजलाई लिभरपुलले शनिवार हङकङमा भएको एसी मिलानविरुद्धको खेलमा टोलीमा राखेको थिएन । अब उनलाई मेडिकल परीक्षणका लागि एसियाबाट युरोप जान लिभरपुलले अनुमति दिएको छ ।
लिभरपुलले फ्लोरियन विट्र्स र ह्युगो एकीटिके अनुबन्ध गरिसकेको छ । न्युक्यासल युनाइटेडका अलेक्जान्डर इसाकप्रति पनि चासो देखाइरहेको छ । डियाज सन् २०२२ को जनवरीमा पोर्टोबाट ३७ मिलियन पाउण्डको प्रारम्भिक मूल्यमा लिभरपुल गएका थिए । उनले क्लबका लागि १४८ खेलमा ४१ गोल गरेका छन् । गत सिजन प्रिमियर लिग उपाधि जित्दा उनमे १३ गोल गरेका थिए।