काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडी चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।
ए क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले अनुबन्ध भएका थिए । उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा खरिद गर्न चाहेपछि लक्की ड्र बाट चितवनले अनुबन्ध गर्न सफल भयो । त्यस्तै अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा यसपटक पनि लक्की ड्र मा चितवन भाग्यमानी साबित भयो ।
पहिलो सिजनमा चोटका कारण अक्सनमै समावेश नभएका पवन सर्राफमाथि ४ टोलीले बोली लगाएका थिए । उनलाई चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले अधिकतम १५ लाखमा चाहँदा भएको लक्की ड्र बाट कर्णालीले अनुबन्ध ग¥यो ।
सबैभन्दा व्यग्र प्रतीक्षामा रहेका आदिल आलममाथि ८ वटै टोलीले बोली लगाएका थिए । न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।
त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो र आदिल काठमाण्डुमा १५ लाख रुपैयाँमा अनुबन्ध भए । ए क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ र सूर्य तामाङ बेस रकम अर्थात् १० लाख रूपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध भए ।