रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात/निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनर्निमाणको पहल गर्न सरकारसमक्ष आग्रह गरेको हो ।

नजिकिदै गरेको चाडपर्वका बेला उद्योगी, व्यवसायी तथा आम उपभोक्ता प्रत्यक्ष प्रभावित भएको र यसले मुल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराईएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीहरुको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको चेम्बरले जनाएको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दशै तिहार र छठजस्ता ठूला पर्व नजिकिदै छन् । अवरुद्ध भएका तातोपानी र रसुवा नाका समयमा पुनर्निमाण सम्पन्न नहुदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ ।

चीनसंग जोडिएको महत्वपुर्ण नाकाहरू लामो समय बन्द हुदा वैदेशिक व्यापार मात्र होइन, साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि संकटमा परेका छन् । चीनबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, फलफूल, खाद्यान्न, औषधि र अन्य दैनिक प्रयोगका सामग्रीहरू रोकिन पुगेको चेम्बरले जनाएको छ । महत्वपूर्ण व्यापारिक नाका खुलाउने विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग सहकार्य गरी तत्काल पहल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार