काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ भने दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुँदैछ ।
अंकतालिकामा जनकपुर बोल्ट्स सबैभन्दा अन्तिममा रहेको छ । ४ खेल खेलेको जनकपुरले यस संस्करणमा हालसम्म कुनै खेल जितेको छैन । आजको खेलमा पनि पराजित भएमा जनकपुरको प्लेअफबाट बाहिरिनेछ । ४ खेलबाट ४ अंक बटुलेको चितवन राइनोज अहिले अंकतालिकाको चौथो स्थानमा छ । आजको खेलमा चितवनले विराटनगरलाई पराजित गरेमा प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । यी दुई बीचको खेल आज मध्यान्ह ११ः४५ बजे टीयू क्रिकेट रंगशालामा सुरु हुनेछ ।
साँझ ४ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् । यी दुबै टोलीको समान २ अंक छ । यद्यपि, कर्णालीले ५ खेल खेलिसकेको छ भने पोखरा आज आफ्नो पाँचौ खेल खेल्दैछ । यी दुबै टोलीलाई आज जित्नैपर्ने दबाब छ। पोखरा आजको खेलमा पराजित भएमा प्लेअफमा पुग्ने सम्भावना घट्नेछ। यता आज कर्णाली याक्स हारेमा प्लेअफबाट बाहिरिनेछ ।