काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ । प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्ने अनुमति पाएको हो ।
भारतको सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटीले मंसिर १६ गते यस निर्यातका लागि अनुमति प्रदान गरेको बताइएको छ । यससँगै प्राधिकरणले भारतमा निर्यात गर्ने कुल विद्युत् क्षमता १, हजार २०० मेगावाट पुगेको छ । त्यसैगरी, प्राधिकरणले हालसम्म बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । हालै सम्पन्न दुईपक्षीय वार्तामा थप २० मेगावाट विद्युत् निर्यात गर्ने समझदारी भएको प्राधिकरणले जनाएको छ ।