
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखमा सुनौलो रङ पोतिदिँदा राइनासकोटको दृश्य झन् लोभलाग्दो देखिन्छ । हल्का कुहिरो चिर्दै उदाउने घामसँगै अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ र माछापुच्छ्रे हिमशृङ्खला क्रमशः छर्लङ्ग्गै देखिँदा पर्यटक मन्त्रमुग्ध हुने गर्छन् । यही सूर्योदय हेर्न पर्यटक बिहानै डाँडा उक्लिने गर्छन् ।
विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनर्निर्माण भएसँगै यहाँ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । परम्परागत घुमाउने घर, गुरुङ समुदायको मौलिक संस्कृति र आत्मीय पाहुना सत्कारले राइनासकोटलाई छुट्टै पहिचान दिएको छ । हाल १७ घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ एकै रातमा करिब १०० जनासम्म पाहुनाले बास बस्न सक्छन् ।
राइनासकोटबाट हिमाल मात्र होइन गोरखाको बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट र गोरखाबजारदेखि तनहुँको आँबुखैरनी, बन्दीपुर र दमौलीसम्मका बस्तीहरू सजिलै देख्न सकिन्छ । लमजुङको बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार र दूराडाँडासमेत आँखै अगाडि देखिने भएकाले यो डाँडा प्राकृतिक भ्यू–टावरकै रूपमा चिनिन थालेको छ । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष बालसिंह गुरुङका अनुसार यहाँबाट १८ जिल्लासम्म देख्न सकिन्छ ।
बाइसे–चौबिसे राजाको पालामा निर्माण भएको राइनासकोट किल्ला, कालिका, कोटेश्वर महादेव र थानीमाई मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिकस्थलले यस क्षेत्रको ऐतिहासिक गरिमा झल्काउँछन् । समुद्री सतहबाट एक हजार ७७४ मिटर उचाइमा रहेको राइनासकोटमा सूर्योदय र सूर्यास्त दुवै दृश्यावलोकन गर्न सकिन्छ । साँझपख अस्ताउँदै गरेको सूर्यले चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटमा रातो–पहेँलो आभा छर्दा पर्यटक लामो समयसम्म त्यो दृश्यमा हराउँछन् ।
राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष गुरुङका अनुसार हप्ताको अन्त्यमा पर्यटकको चाप बढी हुने गरेको छ । शुक्रबार र शनिबार १०० देखि १५० जनासम्म पर्यटक आउने गरेका छन् । राइनास नगरपालिकाले राइनासकोटको पर्यटनलाई अझ व्यवस्थित र दिगो बनाउँदै लैजाने योजना अघि सारेको छ । नगर प्रमुख गुरुङका अनुसार होमस्टेलाई थप व्यवस्थित बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र सेवास्तर सुधार्ने काम भइरहेको छ । केन्द्र र प्रदेश सरकारको सहयोगमा पार्क निर्माण, मन्दिर पुनर्निर्माण, पुरातात्विक सम्पदाको संरक्षण र सडक सुधार पनि भइरहेका छन् । प्याराग्लाइडिङ, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र मनमोहक दृश्यका कारण राइनासकोट पछिल्लो समय काठमाडौँ, पोखरा र चितवनलगायत सहरका पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पुग्न लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट करिब डेढ घण्टा यात्रा गर्नुपर्छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू