नेपाल शेर्पा संघको संघीय सचिवालयको नियमित वैठक सम्पन्न भएको छ । बैठकले यसअघि तोकिएको संघीय कार्यसमितिको वैठक इलाममा गर्ने निर्णय गरेको छ । आगामी माघ ७ र ८ गते बैठक इलाममा हुँदैछ ।
बैठकका लागि विभिन्न जिम्मेवारी समेत तोकिएको अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले जानकारी दिए । बैठकको व्यवस्थापन संयोजकमा उपाध्यक्ष सञ्जय शेर्पा, यातायात व्यवस्थापनमा उपमहासचिव साङदोर्जे शेर्पा, सम्पर्क समन्वयमा सचिव दावा शेर्पा (डिएन) र आर्थिक व्यवस्थापन÷संकलनमा कोषाध्यक्ष आङ दोर्जे शेर्पालाई जिम्मेवारी तोक्ने निर्णय भएको अध्यक्ष शेर्पाले बताए ।
दुई दिनसम्म हुने कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै सांस्कृतिक कार्यक्रम, विभिन्न विषयमा प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम गर्ने तय भएको छ । त्यस्तै, दोस्रो दिन संघीय कार्यसमितिको वैठक सम्पन्न भएसँगै पर्यटकीय नगरी इलामको विभिन्न स्थलको भ्रमण तथा अवलोकन गर्ने कार्यक्रम रहेको महासचिव लाक्पा जी शेर्पाले जानकारी दिए । त्यस्तै, शेर्पाहरुको बसोबास रहेको विभिन्न ठाउँ, ऐतिहासिक गुम्बा, स्तुप लगायतको भ्रमण गर्दै त्यहाँको शेर्पा संस्कृति, रहनसहनबारे अध्ययन गर्ने महासचिव शेर्पाको भनाई छ ।
बैठकमा संघीय कार्यसमिति, पदेन सदस्य, सल्लाहकार र प्रदेश नं. १ का जिल्ला अध्यक्षहरु मात्रै नभएर छिमेकी मुलुक भारतबाट समेत शेर्पा संघसंस्थाका प्रतिनिधिहरु आमन्त्रण गर्ने तयारी भइरहेको बताइएको छ ।

मगलबार बसेको बैठकले आगामी माघ ९ र १० गते हुन गइरहेको नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेशनमा संघीय परिषद्का सदस्य र अन्य दुई जनालाई प्रतिनिधि पठाउने निर्णय पनि गरेको छ । त्यस्तै, पौष २५ र २६ गते हुने निःशूल्क दन्त शिविर भव्यताका साथ सफल बनाउन सबैलाई आह्वान गर्ने, पौष २६ गते विभिन्न क्षेत्रका विख्यात व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
संघले राज्यको उच्च ओहोदामा पुगेका शेर्पा समुदायका अग्रजहरुलाई मानार्थ सदस्यता प्रदान गर्ने र सल्लाहकार समेत चयन गरेको जनाएको छ । संघले प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा विभिन्न कार्यहरु अघि बढाई रहेको र शेर्पा समुदायको बसोबास रहेको ठाउँमा शेर्पा भाषाबाट नामकरण भएका स्थानका नामहरु संकलन गरी पेश गर्न सम्वन्धित जिल्लाका पदाधिकारीहरुलाई तोक्ने निर्णय समेत गरेको सचिव दावा शेर्पाले जानकारी दिए ।
