काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलमा श्रीपञ्चमी–२०८२ को अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित अक्षरारम्भ तथा विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । श्रीपञ्चमीको पावन अवसरमा आयोजित कार्यक्रममा बालबालिकाहरूको अक्षरारम्भ गरिनुका साथै विद्यालयले १७० जना बालबालिकालाई निःशुल्क भर्ना गरेको छ । शिक्षा सबैका लागि सुलभ बनाउने उद्देश्यका साथ निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका अवसरमा विद्यालयका प्रिन्सिपल महिन्द्रा राज घिमिरेले बालबालिकामा सानै उमेरदेखि संस्कार, संस्कृतिप्रतिको सम्मान र सिकाइप्रतिको रुचि विकास गराउन यस्ता कार्यक्रम उपयोगी हुने बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बालमैत्री वातावरणमा सिर्जनात्मक क्षमता उजागर गर्ने अवसर दिन निरन्तर प्रयास गरिरहेको जानकारी दिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आफूले जानेको लोकनृत्य प्रस्तुत गर्नुका साथै गायन, अभिनयलगायत आफ्ना प्रतिभा देखाएका थिए । विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप आकर्षक बनेको थियो ।
त्यसैगरी विद्यालय परिसरमा आठवटा स्टल राखी विद्यार्थीहरूलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाइएका थिए । खेल तथा मनोरञ्जनका माध्यमबाट सिकाइलाई रमाइलो बनाउने उद्देश्यले स्टलहरू सञ्चालन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको पहलको प्रशंसा गरेका छन् । एक अभिभावकले धार्मिक तथा सांस्कृतिक पर्वलाई शिक्षासँग जोडेर आयोजना गरिएको कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताइन् । उनले निःशुल्क भर्ना कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पनि गुणस्तरीय शिक्षामा पहुँच दिलाएको भन्दै विद्यालयप्रति विश्वास बढेको प्रतिक्रिया दिइन् ।
श्रीपञ्चमीको अवसरमा आयोजित यस कार्यक्रमले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबिच आपसी सद्भाव र उत्साह थपेको सहभागीहरूको भनाइ छ ।