काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन खुल्ला हुने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आज माघ १८ गतेदेखि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात सर्वसाधारणमा जारी गर्न लागेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितका लागि ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ६८ लाख ९७६ कित्ता बाँडफाँड गरिसकेको छ ।
कम्पनीले अब बाँकी सेयरमध्ये १३ हजार ७९३ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन माघ २१ गतेसम्म मात्रै दिन सकिनेछ ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी माइनर इस्यूअर’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोमिख रहेको संकेत गर्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।