
नवलपरासी । नेपालको जल पर्यटनमा नयाँ आयाम थप्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा देशकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ। आइतबार साँझ विधिवत् उद्घाटन भएपछि ‘राइनो क्रुज’ ले नियमित सेवा सुरु गरेको हो। नारायणी नदीमा जल यात्राको आनन्द लिँदै यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई एउटै करिडोरमा जोड्ने उद्देश्यले यो परियोजना अघि सारिएको हो।
क्रुजको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले यसलाई नगरको नमुना गहनाका रूपमा चित्रण गरे। उनले क्रुज सञ्चालनका लागि नदीमा रहेका प्राविधिक अवरोध हटाउन र जलमार्गलाई थप सहज बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। यो क्रुजले देवघाटधामदेखि त्रिवेणीधामसम्मको धार्मिक पर्यटनलाई जोड्ने विश्वास लिइएको छ।
के-के छन् सुविधाहरू? राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउनको ५० करोड रुपैयाँ लगानीमा सञ्चालित यो क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। साढे दुई तलाको यो क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सक्ने प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले जानकारी दिए। क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेजका साथै विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सव जस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था गरिएको छ।
शुल्क र सुरक्षा पर्यटकका लागि साधारण टिकट ५ सय रुपैयाँ तोकिएको छ भने विभिन्न प्याकेजअनुसार १५ सयदेखि ३ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक यात्रुको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। ठूलो हावाहुरी र पानीको बहावमा पनि सञ्चालन हुन सक्ने क्षमता भएको यो क्रुजले नारायणी नदीमा ४० किलोमिटरसम्मको यात्रा अनुमति पाएको छ।
आर्थिक विकास र रोजगारी यस परियोजनाले स्थानीय उत्पादनको खपत बढाउनुका साथै ५० जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ। देवघाट, मौलाकालिका, वाल्मीकि आश्रम र चितवनको सौराहालाई जोड्दै दक्षिण एसियाकै नमुना नदी पर्यटन गन्तव्य बनाउने लक्ष्य सञ्चालकहरूको छ। यसले नवलपुर र चितवन क्षेत्रको समग्र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूले बताएका छन्।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह