काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को ९ महिनामा नेपालको व्यापार घाटा १२ खर्ब पुगेको छ । ९ महिनाको अवधिमा १७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार हुँदा १२ खर्ब बढीको व्यापार घाटामा रहेको हो ।
चालू आवको साउनदेखि चैत्रसम्म १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यस अवधिको व्यापार गत आवको सोही अवधिको तुलनामा १४.४० प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिको वैदेशिक व्यापारमा नेपालले १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबरको थियो । भन्सार विभागका अनुसार चालू आवको ९ महिनामा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो । सो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालू आवको चैत्रसम्म दुई खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.४६ प्रतिशत बढी हो । त्यसबेला एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।