
काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो । यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरुले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् ।
यी मौरीका घारहरु महानगरपालिकाले नमूना कार्यक्रमका रुपमा राखेको हो । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रमको पहिलो चरणमा शंखधर उद्यान (रत्नपार्क)मा २ घार, वडा नं. ३ को रानीवारी सामुदायिक बन भित्र ४ घार, वडा नं. १६ को वालाजु वाइसधारा उद्यान भित्र ५ घार, यही वडाको गुरु नानक पार्कमा २ घार, वडा नं. ४ को शंखपार्कमा २ घार, वडा नं. ६ को लाखे पोखरी पार्कमा २ घार मौरी राखिएका छन् । यस्तै वडा नं. १४ को भुवनेश्वरी पार्कमा ४ घार र वडा नं. ३२ को मदन भण्डारी पार्कमा २ घार राखिएको आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।
इञ्जिनियर श्रेष्ठ भन्नुहुन्छ, ‘एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन् । यो भन्दा धेरै संख्यामा माहुरी भए भने छुट्टै रानी मौरी बनाएर समूह विभाजन गरेर बस्छन् । हामी एउटा घारबाट मौरीको संख्या बढेर धेरै हुन् भन्नका लागि वातावरण मिलाउँदै जान्छौँ ।’ उहाँले, घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै पार्कमा रैथाने विरुवा र फूल रोप्ने कामलाई बढाउने, विरुवामा प्राकृतिक मल राख्ने, विरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादिको प्रयोग रोक्ने योजना सुनाउनुभयो ।
वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै संकटमा पर्न सक्छन् । फूलहरुको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ । एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाहरूको प्रजनन प्रक्रियामा मौरीको ठुलो भूमिका हुन्छ । संसारका लगभग ८०५ भन्दा बढी फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा बढी खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् । मौरीको यही भूमिकाले फलफुल, बालीनाली र वनजंगलको विकास तथा विस्तार स्वभाविक र स्वचालित रुपमा भइरहेको हुन्छ । वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाडौँ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो ।
पारिस्थितिकीय स्वास्थ्यको सूचक मौरी निकै संवेदनशील जीव हो । इञ्जिनियर श्रेष्ठ भन्नुहुन्छ, ‘मौरीको संख्या घट्नुले वातावरणीय प्रदुषण, विषादीको अत्याधिक प्रयोग र जलवायु परिवर्तनबाट परेको नकारात्मक असरको संकेत हो । यसकारण मौरीको जीवन चक्रलाई सूचक मानेर हामी वातावरणीय सुरक्षाका लागि काम गर्नेछौँ ।’













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता