
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो ।
गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले यस वर्ष सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका उल्लेख गरे ।
बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन् । गत आवको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आवमा यो सङ्ख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए। यस वर्ष नेपालमा भएको जेनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम र मध्यपूर्वका देशमा भएको द्वन्द्वका कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए ।
नेपालीहरू पछिल्लो समय घुम्न थालेकाले आन्तरिक पर्यटकको आगमन बढेको सूचना अधिकारी थापामगरको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले सातामा दुई दिन बिदा दिएकाले पनि आन्तरिक पर्यटक बढेका हुनसक्छन् ।” गत वर्ष फागुन, चैत, वैशाखमा आन्तरिक पर्यटक ३४ हजार २०२ आएकामा यस वर्ष सो समयमा ४७ हजार ६६१ पुगेका उनले जानकारी दिए ।
निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा अवलोकन भ्रमण गर्न विशेषगरी पर्यटक आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारी, पैदल सफारी, डुङ्गा सयर गर्न पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडियाल गोहीलगायत वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, सरिश्रीप हेर्न पर्यटक आउने उनले बताए ।
यस वर्ष निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट रु २३ करोड पाँच लाख ५० हजार ६०० राजस्व सङ्कलन भएको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार काठदाउरा बिक्रीबापत रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु एक करोड ९५ लाख ३१ हजार ७५५, दण्डसजायबाट रु १० लाख ७१ हजार ९०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ रकम राजस्व सङ्कलन भएको छ ।













समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित