
भद्रपुर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टाबाट भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेखनीय गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाणसँगै त्यसबाट हुने आम्दानी पनि अघिल्लो वर्षको तुलनामा घटेको हो।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ४५ मेट्रिक टन चिया निर्यात हुँदा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको आम्दानी भएको छ। जबकि आर्थिक वर्ष २०८१/८२ मा १५ हजार ३११ मेट्रिक टन चिया निर्यातबाट रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार आम्दानी भएको थियो।
तथ्याङ्कले एक वर्षको अवधिमा चिया निर्यातबाट हुने आम्दानीमा रु ६३ करोड ९६ लाख ८९ हजारको कमी आएको देखाएको छ। निर्यातको परिमाण र मूल्य दुवै घटेपछि यसले चिया उद्योगमा चिन्ता थपेको छ।
काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाकाबाट निर्यात हुने वस्तुमध्ये अलैँचीपछि चिया दोस्रो प्रमुख निर्यातयोग्य वस्तु हो। उनले भारतीय बजारमा हुने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैर–भन्सार अवरोध तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन र मूल्य निर्धारणमा आउने परिवर्तनका कारण चिया निर्यात प्रभावित भएको बताए।
नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा काँकडभिट्टा नाका हुँदै भारतीय बजारमा पुग्ने गरेको छ। निर्यातमा आएको गिरावटले चिया उत्पादक किसान, प्रशोधन उद्योग तथा निर्यात व्यवसायीलाई प्रत्यक्ष असर पार्नुका साथै देशको वैदेशिक व्यापारमा समेत नकारात्मक प्रभाव पर्ने सरोकारवालाको भनाइ छ।
चिया नेपालको प्रमुख नगदे बाली र निर्यातमुखी कृषि उत्पादनमध्ये एक भएकाले यसको निर्यात वृद्धि गर्न गुणस्तर सुधार, नयाँ अन्तर्राष्ट्रिय बजार विस्तार तथा निर्यात प्रक्रियालाई सहज बनाउने नीति आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन