
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा संशोधन गरेको छ । अर्थ मन्त्रालयको २०८३ असार १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार कार्यविधि संशोधन स्वीकृत भएपछि राष्ट्र बैंकले संशोधित व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
संशोधित व्यवस्थाअनुसार सहुलियतपूर्ण कर्जाको नवीकरण भएको अवस्थामा ब्याज अनुदान उपलब्ध हुन थालेको मितिदेखि ५ वर्षसम्म ब्याज अनुदान उपलब्ध हुनेछ । यसअघि सहुलियतपूर्ण कर्जाको नवीकरण तथा ब्याज अनुदानको निरन्तरताका सम्बन्धमा देखिएका व्यावहारिक समस्यालाई सम्बोधन गर्ने गरी कार्यविधिमा संशोधन गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट निजी आवास निर्माणका लागि अनुदान नपाएका प्राकृतिक विपद्पीडितलाई निजी आवास निर्माण कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले ऋणीबाट स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै विपद्का कारण निजी आवास निर्माण गर्नुपर्ने अवस्थामा रहेका तर सम्बन्धित सरकारी निकायबाट आवास निर्माण अनुदान प्राप्त नगरेका ऋणीले सो सम्बन्धमा स्वघोषणा गरेपछि कर्जासम्बन्धी प्रक्रिया अघि बढाउन सकिनेछ । यसले विपद्का कारण घर क्षति भएका तर सरकारी आवास अनुदानको दायरामा नपरेका ऋणीलाई सहुलियतपूर्ण कर्जाको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै संशोधित कार्यविधिले परिस्थितिजन्य कारणले कुनै त्रैमासिक अवधिमा नियमअनुसार तिर्नुपर्ने कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीलाई पनि राहत दिएको छ । यदि त्यस्तो कर्जा रकम अर्को त्रैमासिक अवधिमा बक्यौता चुक्ता गरी नियमित गरिएमा बैंक तथा वित्तीय संस्थाले परिस्थितिजन्य कारण र कर्जाको सदुपयोग भएको यकिन गरी सम्पूर्ण अवधिको ब्याज अनुदानका लागि दाबी गर्न सक्नेछन् ।
यस व्यवस्थाले अस्थायी तथा परिस्थितिजन्य कारणले एउटा त्रैमासिक किस्ता समयमै तिर्न नसकेका ऋणीलाई तत्काल ब्याज अनुदानबाट वञ्चित हुन नदिने देखिन्छ । तर यस्तो सुविधा प्राप्त गर्न कर्जा भुक्तानीमा समस्या परिस्थितिजन्य कारणले भएको र कर्जाको सदुपयोग भएको विषय बैंक तथा वित्तीय संस्थाले यकिन गर्नुपर्नेछ ।
राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम प्रवाह भएका कर्जाको हकमा सोही कार्यविधिमा तोकिएका कर्जा, ब्याज अनुदान, कर्जा सुरक्षण तथा बीमासम्बन्धी सेवा र सर्तअनुसार नै अनुदान प्रदान हुने स्पष्ट पारेको छ ।











समाचार
सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री
करदाता प्रोत्साहन उपहार कार्यक्रममा बीजक प्रविष्टि अनिवार्य
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि
विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गरे श्रम संस्कृतिले जुनुसकै सहयोग गर्छ : आरेन राई
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड
विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर आयो सञ्चालनमा