
मुस्ताङ । उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो ।
खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा स्थापित छ । ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु भन्ने स्थानीय बुझाइ छ । यो पर्व उपल्लो मुस्ताङमा पुस्तौँदेखि मनाउँदै आएको जनविश्वास छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि उपल्लो मुस्ताङसम्मका स्थानीयले यार्तुङलाई विशेष पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । पर्वमा घोडा दौड, स्थानीय नाचगान, खानपान तथा विभिन्न सांस्कृतिक गतिविधि हुने गर्छन् । लोमान्थाङमा आयोजित पर्वको पहिलो दिन मुस्ताङी २६ औँ सांस्कृतिक राजा जिग्मे परवल विष्टको उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो । तीन दिनसम्म चल्ने पर्वको दोस्रो दिन मङ्गलबार मुस्ताङी सांस्कृतिक राजा रानीको उपस्थितिमा कार्यक्रम हुने तथा अन्तिम दिन लोमान्थाङका विभिन्न गुम्बाका लामाको उपस्थितिमा धार्मिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
लोमान्थाङ–५ का वडाध्यक्ष लाक्पा वाङ्दी गुरुङका अनुसार यार्तुङ पर्वको पहिलो दिन मुस्ताङी सांस्कृतिक राजाको भूमिका महत्वपूर्ण हुन्छ । पर्वको पहिलो दिन लोमान्थाङ बजार क्षेत्रबाट करिब दुई किलोमिटर दूरीमा घोडा दौड आयोजना गरिएको थियो । घोडा दौडका क्रममा स्थानीय चार समाजले बाटोमा राखेका मिठो रोटी, याकको टाउकोको आकृति, प्लास्टिकका ऐना र च्याङ्ग्राको खुर ढुङ्गाले हानेर फुटाउने सांस्कृतिक चलनसमेत प्रदर्शन गरिएको स्थानीय भिछिरिङ गुरुङले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको यार्तुङको संरक्षण तथा प्रवद्र्धनका लागि गाउँपालिका र एक्यापले संयुक्त रूपमा आयोजना तथा व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । पछिल्लो समय युवा विदेशिनेक्रम बढेकाले स्थानीय परम्परा र संस्कृति संरक्षण गर्न पर्वलाई व्यवस्थित र सभ्य रूपमा मनाउन जोड दिइएको उनको भनाइ छ ।
यार्तुङ पर्वको पहिलो दिन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुगेर पर्वको अवलोकन गरेका थिए । पर्वका अवसरमा विदेशी पर्यटकको उपस्थिति बढेको स्थानीयले बताएका छन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो क्षेत्रसम्म मनाइने विभिन्न चाडपर्वमा घोडाचढी संस्कृति महत्वपूर्ण मानिन्छ । यस पर्वको विशेषता भनेकै घोडादौड हो । घोडचढीबिना स्थानीय चाडपर्व अपूरो हुने स्थानीय भिछिरिङ गुरुङले बताए ।
यार्तुङ पर्वको दोस्रो दिन घोडा दौड प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । घोडा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु दुई लाख ५० हजार, रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।












समाचार
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
सुनसरीमा जुट खेतीतर्फ किसानको आकर्षण
कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध