
काठमाडौं । सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई सोमबार हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ।
नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मान गरेका छन् । सम्मानसँगै दुवैलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको छ।
धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै स्वास्थ्य सेवा र संस्थागत विकासमा योगदान पुर्याएको भन्दै डा. माकाजुलाई सम्मान गरिएको हो। त्यस्तै, सार्वजनिक प्रशासन, नीति निर्माण, प्रशासनिक सुधार तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै पूर्वसचिव खनाललाई सम्मान प्रदान गरिएको हो।
सम्मान प्रदान गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक सेवा, प्रशासन तथा संस्थागत विकासमा योगदान पुर्याउने व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई सार्वजनिक सेवाप्रति थप जिम्मेवार र प्रेरित बनाउन सहयोग पुग्ने बताए।
नेपाल जन–प्रशासन संघले सम्मानका लागि नेपाल सरकारका पूर्वसचिव तथा संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा दुवै व्यक्तित्वलाई सम्मानका लागि छनोट गरिएको हो।
हेमबहादुर मल्ल सम्मान वि.सं. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा यो सम्मान स्थापना गरिएको हो।
यसअघि विभिन्न क्षेत्रमा योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिसकिएको नेपाल जन–प्रशासन संघले जनाएको छ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज