
काठमाडौं । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४ सय ५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झन्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ । कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो ।
गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार देशका केही भागमा रोपाइँ जारी छ । आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउ बिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिक टन धानबाट करिब ३५ लाख मेट्रिक टन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ ।













समाचार
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?