मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन

मुस्ताङ ।  बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन् । बाढी, पहिरो र नदी कटानका कारण सडक अवरुद्ध हुँदा टिपेर बजार पठाउन तयार गरिएका स्याउ कुहिन थालेका छन् ।

मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बजार पठाउने बेलामा सडक अवरुद्ध छ ।  सडक अवरोधका कारण टिप्न ठिक्क बेला भएका स्याउ किसानहरूले बजार पठाउन पाएका छैनन् । स्याउ बोटमै कुहिन थालेको किसानहरू बताउँछन् ।

हाल ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी छ । सडक अवरुद्धका कारण  ढुवानीमा समस्या भएपछि सोमबार पाँचवटै स्थानीय तहका किसान तथा व्यापारीको समूहले जिल्ला प्रशासन कार्यालय पुगेर सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

३६ किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मासमक्ष सडक अवरोधका कारण स्याउ ढुवानीमा परेको समस्या र किसानले व्यहोर्नुपर्ने क्षतिबारे जानकारी गराएका हुन् ।

थासा गाउँपालिका–१ टुकुचास्थित आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले दसैँअघि स्याउ बिक्री हुने मुख्य समयमा सडक बन्द हुँदा किसानको वर्षभरिको मेहनत खेर जाने अवस्था आएको बताए “स्याउ टिपौँ,  बजार लैजाने बाटो छैन,” उनले भने, “यस्तो अवस्थामा स्याउको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका किसान कान्छा गुरुङले मुस्ताङको ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी रहेको बताए  । तीजअघि केही स्याउ बजार पठाइए पनि ठूलो परिमाणमा स्याउ अझै बगैँचामै रहेको उनले बताए ।

सडक खुलेपछि एकैपटक ठूलो परिमाणमा स्याउ बजार पुग्दा मूल्य घट्न सक्ने जोखिमसमेत रहेको उहाँको भनाइ छ । घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान योन्तेन गुरुङले बेनी–जोमसोम सडक तत्काल सञ्चालनमा ल्याउन आयोजनाले तीव्र गतिमा काम गर्नुपर्ने बताए ।

सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटनसँगै कृषि क्षेत्रसमेत प्रभावित भएको उल्लेख गर्दै उहाँले स्याउ किसानलाई थप क्षति हुन नदिन राज्यका सबै संयन्त्र परिचालन गरी सडक खुलाउनुपर्ने माग गरे ।

विद्युत् प्रसारणसम्बन्धी समस्या र सडक अवरोधका कारण टिपेर राखिएका पाँच ट्रक स्याउ बजार पठाउन नसकिएको उनले बताए । लामो समयसम्म राख्दा ती स्याउ कुहिएर नोक्सान हुने जोखिम रहेको उनको भनाइ  छ । वारागुङ मुक्तिक्षेत्र–४ तिरीका किसान नर्वु गुरुङले सडक सञ्चालन नहुँदा परम्परागत जातका स्याउ बोटमै पाकेर झर्न थालेको उनले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर